काठमाडौं,१६ कात्तिक : पछिल्लो समय कालिज पालन गर्ने व्यवसायीहरुको संख्या बढ्दो छ । यसैमा सम्भावना खोज्दै काठमाडौंको तारकेस्वर न.पा,वडा नं-५,बतासे डाँडामा ५० लाखको लगानीमा निरु थापा मगरले कालिज फार्म खोलेकी छन । आज भन्दा डेड बर्ष अगाडी २ सय चल्ला राखेर सुरु गरिएको फार्ममा हाल १ हजार २ सय कालिज रहेका छन् ।
यो व्यवसाय गर्नु अघि उनले बोईलर कुखुरा पालन र फेन्सी पसल संचालन गरेकी थियिन । कालिज पालन गर्दै आई रहेका बिभिन्न व्यवसायीहरुको कथा युट्युबमा हेरेपछि आफुले श्रीमानको सर-सल्लाहमा कालिज फार्म खोलेको उनको भनाई छ ।
मासुका लागि योग्य भएका कालिजको मुल्य फार्म अनुसार नै फरक छ । केहि व्यवसायीहरुले एउटा बयस्क कालिजको ३ हजार ५ सय देखि ४ हजार रुपैया सम्म पनि लिने गरेका छन् तर मासुको मुल्य घटाउन सके मात्र यो व्यवसायले स्थाइत्व पाउने निरुको भनाई छ । अहिले उनले २ हजार ५ सय प्रति गोटामा कालिज बिक्रि वितरण गरिरहेकी छिन । गंगबु,मित्रनगरमा उनको एउटा क्याफे पनि छ । क्याफे र फार्मबाट अहिले कालिज बिक्रि भई रहेको छ ।
१ दिने चल्लालाई ५ सयमा बेच्दै आएकी निरुले अन्तको भन्दा सस्तोमै कालिज बेची रहेको बताएकी छिन ।
सुरुको तीन महिना कालिजलाई दाना नै खुवाएर हुर्काउनु पर्छ नत्र प्रोटिनको अभाबमा यिनीहरु एक आपसमा ठुँगेर मर्छन त्यसपछी भने गहु वा मकैको च्याख्ला खुवाएर पनि कालिज हुर्काउन सकिन्छ । उनले कालिजलाई हरियो घाँस पनि दिने गरेकी छिन ।
कालिजमा रोगबाट हुने जोखिम कम भएता पनि उनको फार्म शिवपुरी रास्ट्रिय निकुन्जसंगै गासिएको करिब ४ रोपनी जग्गामा फैलिएको हुदा बेला-बेलामा जंगली जनावरहरुबाट कालिज माथि आक्रमण हुने गरेको छ । आज भन्दा ६ महिना अगाडी रातको करिब ८ बजे फार्मको जाली च्यातेर चितुवा छिरेको थियो । ५० ओटा भन्दा बढी कालिज मारेको चितुवालाई नियन्त्रणमा लिन सदर चिडियाखानाका कर्मचारी,नेपाली सेना र निकुन्जका कर्मचारीहरुले प्रयास गरेका थिए तर पछी रातको २ बजे छिरेको ठाउँबाट नै चितुवा बाहिर गएको सम्झना गर्दै बिगत ६ महिनाको अवधिमा ३ पटक फार्म भित्र चितुवा छिरी सकेको जानकारी मगरले गराएकी छिन । चितुवा बाहेक ,स्याल,जंगली बिरालो र अन्य जनावरबाट समेत जोखिम बढेको उनको भनाई छ । जनावरबाट हुने जोखिम बढ्दै जान थालेपछि आफु त्यसको व्यवस्थापनमा लागि परिरहेको निरुले बताएकी छिन ।
रिंङ नेक लगायत बिभिन्न जातका कालिज पालन गरेकी उनलाई सरकारले ऋणमा अनुदान दिएर सहयोग गर्न अनुरोध समेत गरेकी छिन ।
महिलाहरुले चाहे भने जस्तोसुकै काम गर्न सक्छन मात्र आफूभित्र जोस जाँगर र काम गर्ने इच्छा हुनु पर्छ । सधै श्रीमानको आम्दानीको मात्र भर परेर नबस्न उनले सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आग्रह गरेकी छिन ।